Sunday, November 29, 2009

साथीसँग मनका कुरा

महिलाहरू आपसमा दुःखेसो गरिरहेका थिए । उनीहरूमध्येकी एउटी भनिरहेकी थिइन्, 'छोराछोरीको व्यवहार सम्झदा दिक्क लाग्छ । कति दुःख सहेर हुर्कार्इयो, छोराछोरी भने मनमौजी भएर निस्किए । अबेला घर र्फकन्छन्, कहाँ गएका थियौ भनेर सोध्दा साथीसँग थिएँ भन्छन् । लुसुक्क कोठामा छिर्छन्, ढोका थुनेर फोनमा घन्टौं गफ गर्छन् ।' अर्कीले भनिन्, 'मेरी छोरी पनि त्यस्तै छे । के कुरा गर्ने होला त्यति लामो ? कोसँग कुरा गर्ने होला ? के कुरा गर्छाै, कोसँग गर्छौ भनेर सोध्न पनि हुँदैन, रिसाइहाल्छे । कर गरेर सोध्यो भने 'तपाईंलाई बोझ भएँ म घर छाडेर जान्छु भन्छे ।' हाम्रो पालामा परिवारको अनुशासन कति राम्रो थियो । सबै नियममा बस्थे । अहिले त के देख्नुपरेको हो ?' अर्कीले थपिन्, 'अझ केके देख्नु-भोग्नुपर्ने हो ।'अहिलेका अभिभावकहरूका कथा-व्यथा यस्तै हुन्छन् । एउटा निश्चित परम्परागत संस्कारमा बाँचेका महिला वा पुरुषलाई किशोरावस्थाका केटाकेटीको आधुनिक व्यवहारले निराश बनाउने गरेको छ । समय परिवर्तन भएको कुरा थाहा हुँदाहुँदै पनि उनीहरूको चित्त बुझाउन गाह्रो हुन्छ । किशोरावस्थाका केटाकेटी साथीसँग यति धेरै आशक्त किन हुन्छन् भन्ने थाहा नभएर यस्तो समस्या देखिएको विभिन्न अनुसन्धानले देखाएको छ । मनका कुरा साथीसँग 'मनको बह कसैलाई नकह' भन्ने हाम्रो पुरानो कथन समयसँगै परिवर्तन भएको छ । जीवनमा सुख-दुःखका घटना घटिरहेका हुन्छन् । ती घटनाले खुसी वा तनावका संवेगहरू जन्माउँछन् । ती संवेगलाई मनपरेको व्यक्तिसँग व्यक्त गर्न पाउँदा मन हलुका हुन्छ । मनको भारी शारीरिक भारीभन्दा गहौ्रं हुन्छ । मनको भारी अरूसँग बिसाउँदा हलुको हुन्छ । मनका खुसी वा दुःखका संवेग पोख्न हरेक उमेरका मानिसलाई आˆनो उमेर मिल्दो साथी चाहिन्छ । व्यक्ति समान उमेर, समान रहनसहन वा समान किसिमका सुख-दुःख भएका व्यक्तिसँग खुलेर कुरा गर्न सक्छ । आफ्ना समस्या वा सुख-दुःख सुन्ने मानिसले यसमा फरक मत वा तर्क-बितर्क गर्दैनन् । बरु ती कुरामा सहमति तथा सहानुभूति व्यक्त गर्छन् ।मनको बह ओकल्न नपाए तनाव उत्पन्न हुन्छ । तनावले अनिद्रा, उक्त रक्तचाप, मुटुसम्बन्धी रोगलाई मलजल पुग्छ । स्वस्थ रहने विभिन्न उपाय साथीसँग मनको कुरा व्यक्त गर्नु पनि हो । यही यथार्थअनुरूप हरेक उमेरका मानिस आˆनो मनको कुरा सुनाउन साथीसंगी बनाउँछन् । मन मिल्ने साथीसँगको भेटघाट एंव कुराकानीले मानिसको मनमा उत्पन्न खुसी वा तनाव व्यवस्थापन गर्न सहयोग पुर्‍याउनुका साथै जीवन जिउने कला पनि सिकाउँछ । हाम्रो समाजमा धेरैजसो महिला घरपरिवारको सानो परिधिभित्र सीमित छन् । उता घरबाहिर पुगेर केही देख्ने वा सुन्ने अवसर पाएका तर परम्परागत सोचमा भने परिवर्तन ल्याउन नसकेका पुरुषहरू जीवनसाथीसँग आफूले सुने-जानेका कुरा सुनाउँदैनन् । उनीहरूको परम्परागत सोच पत्नीलाई आदर्श पत्नीका रूपमा मात्र स्वीकार गर्न चाहन्छन् । जसको भूमिका सन्तान जन्माउनु तथा परिवारको सेवामा समर्पित हुनु हो । यस्तो पारिवारिक वातावरणमा जीवनयापन गर्न बाध्य महिलाहरूको सोचको घेरा सानो हुन्छ । आफूसँग लुटपुटिँदै हुर्किएका सन्तानले आफूलाई वास्ता गर्न छाडेपछि आमाहरू त्यसै निराश हुन्छन् । हाम्रो परम्परागत संस्कारमा आमाबुबाहरू किशोरावस्थामा प्रवेश गरेका आˆना छोराछोरीसँग खुलेर कुरा गर्ने चलन बिरलै पाइन्छ । छोराछोरी पनि किशोरावस्थामा पुगेपछि आˆनो छुट्टै अस्तित्व खोज्न थाल्छन् । यो कुरा आमाबाबुलाई त्यति सह्य हुँदैन । उमेरले ल्याएको परिवर्तनका कारण आमाबाबुप्रति छोराछोरी एक हात पर हुन थाले आमाबाबु दुई हात पर भैदिन्छन् । छोराछोरीले आफूले चाहेको भन्दा अलिकति फरक व्यवहार देखाए पनि आमाबाबुले 'छिमेकी वा आफन्तका छोराछोरी असल छन् मेरा मात्र गएगुजि्रएका आवारा भए' भन्न थाल्छन् । जथाभावी व्यवहार गरेर वा गाली-बेइज्जती गरेर छोराछोरीको मन दुखाउन सके छोराछोरी आफ्नो काबुमा आउँछन् भन्ने सोचको विकास हुन्छ । 'शिर उमि्रयोे....बैस पलायो, पैसाका लागि मात्र आमाबाबु खोज्छन् यिनीहरू' जस्ता कमसल सोच राखेर आफ्ना किशोरावस्थाका छोराछोरीलाई आफूबाट अझ टाढा पुर्‍याउने काम धेरै अभिभावकबाटै भैरहेको हुन्छ । यसले गर्दा केटाकेटीको मनमा अभिभावकप्रति विद्रोहको भावना उत्पन्न हुन थाल्छ ।किशोरावस्था सुरु भएपछि शरीरमा हार्मोन उत्पन्न हुन थाल्छन् । त्यसपछि किशोर-किशोरीका मनमा यौनसम्बन्धी कुरा सोच्न मन लाग्ने, विपरीत लिङ्गप्रति आकषिर्त हुने, रोमान्स गर्न तथा प्रेम गर्न मन लाग्ने आदि चाहना मनमा आउँछन् । यसैबेला मनले यौनसाथीको खोजी गर्न थाल्छ । हार्मोन परिवर्तनकै कारण यौनसम्बन्धी रुचि जाग्न थाल्छ । मनमा उठेको यौनप्रतिको कौतूहलता तथा चाहनाका कुरालाई किशोर-किशोरीहरू अभिभावकलाई सुनाउन सक्दैनन् । यी कुरा सुन्न-सुनाउन उनीहरू साथीसंगी बनाउँछन् । यसबाहेक यौनसम्बन्धी पुस्तक पढेर पनि उनीहरू जानकारी लिन्छन् तथा मन शान्त गर्छन् । किशोरावस्थाका केटाकेटीमा अर्काको देखासिखी गर्ने बानी हुन्छ । चलचित्र तथा साथीका बानी-व्यवहारको देखासिखी गरी असुक्षित यौन सम्पर्क गर्न पुगे अनिश्चित गर्भधारण तथा यौन रोग लाग्ने खतरामा पर्छन् । कुनै पनि उमेरका मानिसले आˆनो सुख-दुःख व्यक्त गर्ने साथी बनाउनु राम्रो कुरा हो । साथीहरूको दबाब वा करकापमा परेर किशोर-किशोरीहरू जोखिमपूर्ण यौन व्यवहार गर्न वा लागूपदार्थको दुव्र्यसनमा फस्न सक्छन् । फलस्वरूप किशोर-किशोरी कुनै पनि कुराको सही तथा असल निर्णय गर्न सक्दैनन् । आˆनो मनमा लागेको कुरा भन्न पाउनु हरेक मानिसको अधिकार हो । अरूले भनेको कुरा ध्यान दिएर सुन्नु र अरूको विचार बुझ्नु तथा जथाभावी नबोल्नु किशोर-किशोरीको जिम्मेवारी हो । किशोरावस्थाका केटाकेटीको भावना बुझिदिनु अभिभावकहरूको कर्तव्य पनि हो । दैनिक जीवनमा आइपरेका सुख-दुःखलाई आत्मीय व्यक्तिसँग बाँड्न पाउनुपर्छ । यद्यपि यस्ता कुरा निश्चित एवं विश्वासी व्यक्तिसँग मात्र बाँड्नुपर्छ । दुःख सुन्ने कोही नभएको अवस्थामा एक्लै आँसु बगाएर रुनु पनि राम्रो हो । आँसुले मनको बोझलाई कम गर्छ । सिर्जनात्मक सोच राख्ोर खेलकुद, साहित्य, संगीत, लेखाइ-पढाइमा व्यस्त रहँदा पनि मनको बोझ कम गर्न सघाउ पुग्छ ।

No comments:

Post a Comment